राप्तीसोनारी- हरेक पालिकाले कृषिमा आत्नमिर्भर बन्न हरेक वर्ष हरसम्मत प्रयास गरिरहेको हुन्छ । वार्षिक योजना बनाएर बजेट विनियोजनदेखि कृषिमा सहुलियत कर्जा, अनुदानमा कृषि सामग्री वितरण, कृषि तालिम तथा गोष्ठि, कृषि भ्रमण जस्ता कृयाकलापमा हरेक पालिकाले जोड दिइरहेको हुन्छ । तर हरेक पालिकाको आ–आफ्नै भू–बनावट, वातावरण, बजार विस्तार, यातायात जस्ता कुराले उत्पादन भएका कृषि वस्तुबाट हुने निर्भरता र आम्दानीलाई फरक–फरक प्रभाव पारेको हुन्छ ।
यसर्थ, सबै पालिकाले कृषिमा उत्कृष्ठ काम गर्न नसकेता पनि केही पालिकाले भने कृषिमा उल्लेखनिय काम गर्दै पालिकालाई आत्मनिर्भरताको बाटोमा डो¥याउन सफल भइरहेका हुन्छन् । जसमा जाजरकोट जिल्लाको दुर्गममा रहेको नलगाड नगरपालिकालाई लिन सकिन्छ ।
विशेषतः मह उत्पादन, फलफूलमा स्याउँ, सुन्तला, नास्पतीदेखि लसुन, काजती, अलैची, प्याज, टिमुर, आलु तथा तरकारी उत्पादन एवम् तरकारीको बीउ उत्पादन गर्नु नलगाडको विशेषता रहेको कृषि शाखा प्रमुख बालकृष्ण आचार्य बताउँछन् । ‘लसुन र कागती त नलगाडमा अधिक नै उत्पादन हुन्छ भन्न पनि सकिन्छ,’ प्रमुख आचार्यले भने, ‘तर यहाँसम्म नेपालगन्जका ब्यापारीलाई जोड्न सक्ने हो भने यहाँ उत्पादन भएका वस्तुहरुले राम्रो मूल्य पाउने थिए ।’
जल, जमिन, जंगल र पर्यटनका हिसाबले नलगाड नगरपालिका निकै राम्रो सम्भावना भएको नगरपालिका हो । सडक तथा अन्य पूर्वाधार विकास र कृषि उपजले नलगाडको फरक पहिचान स्थापित गरे पनि सडक संजालको पूर्ण विस्तार नहुँदा अझै पनि नलगाडमा उत्पादन भएका कृषि उपज वस्तुहरुले बजार नपाएको तितो यथार्थ भने अझै पनि छँदै छ ।
नलगाड नगरपालिकाको ९, १० र ११ नम्बर वडा लसुन उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । अघिल्लो वर्ष उक्त वडाका लसुनको उत्पादन धेरै नै राम्रो भएको थियो । तर उत्पादन भएको लसुनले बजार पाउन नसकेपछि यो वर्ष कम कृषकले लसुन खेती गरेको अनुभव नलगाडकी उप–मेयर सरितासिंह ठकुरीले बताइन् ।
‘कति लसुन उत्पादन भयो भन्ने त हामीसँग ठ्याकै रेकर्ड त छैन, तर लसुन बिक्री नभएर किसान चिन्तित बनेका थिए,’ उप–मेयर ठकुरीले बताइन्, ‘किसानले उत्पादन गरेको कति लसुन त भेरी नदीमा फालेँ कति कुहिएर गयो । त्यसैले पनि यो वर्ष धेरै लसुन खेती भएको छैन ।’
त्यस्तै नलगाडको वडा नम्बर ५ लगायत अन्य वडा कागतीको पनि राम्रो उत्पादन हुन्छ । कागती किसानले सिजनको समयमा १५ रुपैयाँ किलोसम्म कागती बिक्री गर्ने गर्छन् भने केहीले अन्य समयमा पनि बिक्री गर्नका लागि कागती निचारेर राख्ने गर्दछन् ।
नलगाड क्षेत्रमा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे बनेको छैन । तर नलगाडले संघीय र कर्णाली प्रदेश सरकारको सहयोगमा धेरै स्थानमा कच्ची सडक विस्तार भने गरिसकेको नलगाडका मेयर डम्बरबहादुर रावत बताउँछन् । जसका कारण नलगाडमा उत्पादन भएका कृषि वस्तु अहिले बाहिर निर्यात हुने थालेको उनले बताए । तर हालसम्म नलगाडको ९ र १३ नम्बर वडामा भने सडक पुग्न सकेको छैन ।
पकेट क्षेत्र कायम गरेर कृषि उत्पादन बढाइँदै
नलगाडले हाल तेलमा पालिकालाई आत्मनिर्भर बनाउन दीर्घकालीन योजनामा काम गरिरहेको छ । वडा नम्बर ७ मा नलगाडले कृषि अनुसन्धान केन्द्र खोलेर तोरी खेती गर्ने र तेल उत्पादन गर्ने कार्यलाई जोड दिएर यो वर्ष ९ लाख रुपैयाँ खर्च गरिसकेको शाखा प्रमुख न्यौपानेले बताए ।
‘हामीले कृषि अनुसन्धान केन्द्रको मार्फतबाट ९० हेक्टर क्षेत्रफलमा हाल तोरी लगाउन सुरु गरेका छौं । सुरुमा हामीले ४ लाखको वीउ उपलब्ध गरायौं र ५ लाख रुपैयाँको मिल जडानका लागि बजेट छुट्यायौं,’ न्यौपानेले बताए, ‘अब अर्को वर्षदेखि हामीले तोरीको बीउका लागि सहयोग गर्छौं । बाँकी किसान आफैंले गर्नु हुन्छ ।’
नलगाडले हाल कृषिमा दीर्घकालीन योजना बनाएर काम गरिरहेको कृषि शाखा प्रमुख आचार्यले बताए । हाल नगरगाडको वडा नम्बर १, २ र ४ लाई मह उत्पादन पकेट क्षेत्रका रुपमा कायम गरिएको छ । त्यस्तै वडा ३ लाई सुन्तला, वडा ७ र ८ लाई धान, वडा ३ र ६ लाई आलु, वडा ५ लाई मकै र कागती, वडा १३ लाई स्याउँ, ओखरलगायतका फलफूल र वडा २, ४, ५, ७ र ८ लाई तरकारीको पकेट क्षेत्रका रुपमा छुट्याइएको छ ।
उक्त पकेट क्षेत्रमा उत्पादन बढाउन कृषि शाखाको ६ जनाको टोलीले हाल काम गरिरहेको छ । उनीहरुले कृषिको मागअनुसार कृषिऔजार उपलब्ध गराउनेदेखि निःशुल्क बीउविजन दिने, परामर्श दिने, बेमौसमे बाली उत्पादन गर्ने कृषकलाई आवश्यक सहयोग तथा तालिम दिने काम काम गरिरहेको शाखा प्रमुख न्यौपानेले बताए ।
नलगाडले शाखामार्फत पकेट क्षेत्रका कृषकहरुलाई आवश्यक सामग्री अनुदानमा दिने पनि गरेको छ । नलगाडले २२ वटा हाते ट्याक्टर, ७ वटा धान चुट्ने पैदल मेसिन, ७ वटा मकै छोडाउने मेसिन, ५ वटा धान काट्ने मेसिन ५० प्रतिशत अनुदानमा किसानहरुलार्ई उपलब्ध गरार्ई सकेको छ । त्यस्तै यो वर्ष पनि किसानका मागअनुसारका सामग्री अनुदानमा उपलब्ध गराउने योजना रहेको न्यौपानेले बताए ।
बेमौसमी उत्पादनमा जोड
नलगाडले सुरु गरेको अर्को महत्वपूर्ण योजना भनेको बेमौसमी तरकारी उत्पादन हो । नलगाडका धेरै स्थानमा पक्की फलामी प्लाष्टिका तरकारी उत्पादन गर्ने घरहरु देख्न सकिन्छ । उक्त एउटा घरको मूल्य १ लाख २० हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्म पर्ने शाखा प्रमुख न्यौपानेले बताए ।
‘मौसमअनुसारका तरकारी उत्पादनले मात्रै हुँदैन भनेर बेमौसमी उत्पादनलाई जोड दिन नगरपालिकाले सुरु गरेको हो । यो योजना सुरु भएको २ वर्ष जति भयो हो,’ शाखा प्रमुख न्यौपानेले बताए ।
बेमौसमी तरकारी उत्पादन गर्न नलगाडले गत वर्षमात्रै ६×१२ को २१ वडा घरहरु कृषकका लागि निर्माण गरिसकेको छ भने यो वर्ष पनि ६ वटा घरहरु निर्माण भई सकेका छन् । अरु घरहरु पनि निर्माण गर्ने योजनामा रहेको न्यौपानेले बताए ।
निर्माण भएका ती घरहरुमा अहिले टमाटर, काक्रा, स्कूज, करेला उत्पादनका कामहरु भई रहेको न्यौपानेले बताए ।
यो वर्ष लाइसेन्स लिएर उनले बीउ उत्पादन सुरु गरेका छन् । यो वर्ष आफैंले प्याकेजिंगसहितको उत्पादन गर्ने योजनामा रहेको वष्ट करिब ४ क्वीन्टल प्याजको बीउ मात्रे उत्पादन हुने बताउँछन् ।
बीउमा पनि आत्मनिर्भर बन्ने प्रयास
२७ वर्षीय दयाराम विष्ट यतिखेर तरकारी उत्पादनसँगै तरकारीका बीउ उत्पादनमा ब्यस्त छन् । नलगाड नगरपालिका वडा नम्बर ३, चावलेचोर घर भएका विष्टले वडा नम्बर ५, शेराखेतमा व्यवसायी तरकारी खेतीसँगै पालिकाको सहयोगमा बीउ उत्पादनमा लागेका हुन् ।
विगत १० वर्षदेखि कृषि कर्म गरिरहेका दयाराम श्रीमती कृष्णाा वली विष्टको साथमा हाल ४४ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । पालिकालाई पुग्नेगरी पहिलोचरणमा तरकारीको बीउ उत्पादन गरिरहेको विष्टले बताए ।
‘बेमौसमी तरकारी सँगसँगै प्याजको, रायो र मुलाको बीउ उत्पादनको काम सुरु भइसकेको छ । अघिल्लो वर्षदेखि नै हामीहरुले बीउ उत्पादन सुरु गरेका हौंं,’ उनले भने ।
नलगाडले विष्टलाई सुरुका वर्षदेखि सहयोग गर्दै आइरहेको छ । नलगाडले उनलाई सुरुका वर्षदेखि पक्की फलामे घर निर्माण ५० प्रतिशत साझेदारीमा सहयोग गर्दै आइरहेको छ । ‘मलाई पालिकाले सुरुको दोस्रो वर्षदेखि सहयोग गरेको छ । चिनजान भएपछि पक्की टडेल बनाउन ५० प्रतिशत साझेदारीमा पालिकाले सहयोग गरेको हो,’ विष्टले भने । विष्टले करिब ३ रोपनीमा उक्त फलामे पक्की संरचनाहरु बताएका छन् ।
सुरुमा ८ रोपनी जग्गामा तरकारीदेखि गरेका विष्टले यो वर्ष १६ रोपनी जग्गामा मात्रै बीउ उत्पादनको काम गरिरहेका छन् । उनले भने, ‘अघिल्लो वर्ष हामीले १ रोपनीमा मात्रै प्याजको बीउ उत्पादन गरेको थियो । सुरुको वर्ष पनि भयो र परिक्षण काल जस्तो पनि भएकाले थोरैमा प्याजको बीउ उत्पादन गर्ने काम गरियो भनौं ।
अघिल्लो वर्ष विष्टले करिब ७७ किलो प्याजको बीउ उत्पादन गरेको बताउँछन् । सोमध्ये १० किलो विष्ट आफैंले उत्पादनका लागि प्रयोग गरे भने ३५ किलो कृषि शाखाले नै आन्तरिक वितरणका लागि लिएको थियो भने बाँकी बाहिर निर्यात गरेका थिए ।
विष्टले अघिल्लो वर्ष ३ हजार रुपैयाँ किलो प्याजको बीउ बिक्री गरेका थिए । ‘अघिल्लो वर्ष सबै खर्च कटाएर १ लाख जति बचेको थियो । त्यसैले हामीलाई अलि हौसायो,’ विष्टले भने ।
यो वर्ष लाइसेन्स लिएर उनले बीउ उत्पादन सुरु गरेका छन् । यो वर्ष आफैंले प्याकेजिंगसहितको उत्पादन गर्ने योजनामा रहेको वष्ट करिब ४ क्वीन्टल प्याजको बीउ मात्रे उत्पादन हुने बताउँछन् ।
अहिले पालिका मै बीउ उत्पादन सुरु भएपछि कृषि शाखालाई बाहिरबाट बीउ ल्याउनुपर्ने बाध्यता हटेको कृषि शाखा प्रमुख बालकृष्ण न्यौपानेले बताए । ‘पालिका मै बीउ उत्पादन भएपछि हामीलाई पनि सहज भएको छ । यहाँ कृषकको पनि आम्दानीको स्रोत बढेको छ भने पैसा पनि बाहिर जान पाएनन्,’ न्यौपानेले बताए ।