राप्तीसोनारी- डुडुवा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ ।
यही चैत्र मसान्तसम्म पालिका अन्र्तगत सम्पूर्ण घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।
डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धि पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिका पूर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुट्ने गरेका बालबालिकाहरुको पहिचान गरी सबैलाई खोप लगाएपछि मात्र सुनिश्चितता गर्ने प्रक्रिया रहेको छ ।
कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज तथा फोकल पर्सन लगायतको सहभागिता रहेको थियो ।