spot_img

नरैनापरले शिक्षामा गरेको उल्लेखनीय परीवर्तन

राप्तीसोनारी- दैनिक करिब १८ जना उपस्थित हुने आदर्शमा अहिले ७ सय जना विद्यार्थी भर्ना भएका छन् भने करिब ५ सय ५० बढी विद्यार्थी दैनिक विद्यालय आउने गरेको हाजिरी विद्यालयसँग रहेको छ ।

बाँके जिल्लामा रहेका आठवटा स्थानीय तहमध्ये नरैनापुर गाउँपालिकाले शिक्षामा उल्लेखनीय परीवर्तन गरेको छ । देश संघीयतामा गएसँगै स्थानीय सरकारको प्रत्याभूतिपश्चातको यो ५ वर्षमा सबै पालिकाले शिक्षामा बालबालिको पहुँचदेखि विकासका काम गरेका छन् । जसमध्ये नरैनापुले यो ५ वर्षमा शिक्षामा गरेको परीवर्तन सराहनिययोग्य छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर २, लक्षमणापुरमा रहेको आदर्श माध्यमिक विद्यालयमा २०७६ साल तिर बढीमा १८ जना विद्यार्थी नियमित विद्यालय आउने गर्थे । आदर्शका प्रध्यानाध्यापक त्रिलोकी नाथ मौर्यका अनुसार सो समयमा विद्यालयमा कति विद्यार्थी भर्ना थिए भन्ने एकिन तथ्यांक नभएको र दैनिकरुपमा १५ देखि २० जना विद्यार्थीको हाजिरी हुने गर्दथे ।

‘मेरो अनुमानमा २०७५/७६ तिर १८/२० जना विद्यार्थीमात्रै विद्यालयमा नियमित आउने गर्थेँ । त्यसमा पनि एउटै विद्यार्थी नियमित भएको पाइन्थेन । पालैपालो गरेर दैनिक त्यतिजनाको हाजिरी हुन्थ्यो,’ प्रध्यानाध्यपक मौर्य बताउँछन् । सो समयमा अभिभावक एवम् विद्यार्थीलाई नियमित विद्यालय जानुपर्छ , पढ्नु पर्छ भन्ने मानसिकता धेरै कम भएको उनले बताए ।
सो समयमा विद्यार्थीको संख्या न्यून हुनुका साथै विद्यालय पनि व्यवस्थित थिएन । कर्मचारी पनि धेरै नै कम रहेको उनले बताए । साथै विद्यालयमा भएका कोठा पनि प्रयाप्त थिए ।
तर हाल आएर सो अवस्था धेरै नै परीवर्तन भएको छ । अहिले आदर्शको मुहार धेरै नै परीवर्तन भएको छ । विद्यालयमा विद्यार्थीको चाप अध्याधिक रहेको छ । विद्यालय पनि व्यवस्थित हुँदै भएको छ भने कर्मचारी पनि थपिएका छन् ।

५ वर्षको अन्तरपछि आदर्शमा ३ हजार ५ सय प्रतिशत विद्यार्थी बढेका छन् । दैनिक करिब १८ जना उपस्थित हुने आदर्शमा अहिले ७ सय जना विद्यार्थी भर्ना भएका छन् भने करिब ५ सय ५० बढी विद्यार्थी दैनिक विद्यालय आउने गरेको हाजिरी विद्यालयसँग रहेको छ ।

‘अहिले त विद्यार्थीको चाप यति धेरै भइसकेको छ की बाहिर ग्राउण्डमा राखेर पढाउनुपर्ने बाध्यता आएको छ । विद्यालयमा भएका कोठाले नपुगेर गाउँपालिकाले अरु कोठाहरु बनाउँदै छ,’ मौर्यले भने । नरैनापुरले आदर्श विद्यार्थीको चापलाई मध्यनगर गर्दै आइसिटि ल्याबसहितको ६ वटा आधुनिक कक्षा कोठा निर्माण गरिरहेको छ । त्यस्तै आदर्शमा कर्मचारी र शिक्षकगरी ९ जना कर्मचारी पनि पालिकाले थप गरेको छ । पहिलो १ जना शिक्षकले संचालन गरेको बालविकासमा अहिले २ जना शिक्षक छन् भने विद्यालयमा ४ जना कर्मचारी र १२ जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

साथै पालिकामा मुस्लिम र मधेसी समुदायको बाहुल्यता रहेकाले नेपाली भाषाको समस्या हटाउन एकजना मावि तहको नेपाली शिक्षकको पनि पालिकाले आफ्नै स्रोतमा दरबन्दी उपलब्ध गराएको छ ।

विद्यार्थीको चापका कारण आदर्श माविमा कक्षाकोठा थप गरिँदै ।

नरैनापुरले पालिकामा रहेका विद्यालयमा विषयत शिक्षक दरबन्दीलाई विशेष जोड दिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु बताउँछन् । ‘नरैनापुरले विगत ५ वर्षमा शिक्षा सुधारका लागि विशेष जोड दिएको छ । पालिकाले सबैभन्दा बढी कर्मचारी विद्यालयमा नै थप गरेको छ भने अब विषयगत शिक्षक दरबन्दीका लागि पालिकाले विशेष जोड दिँदै आफ्नै स्रोतबाट भए पनि व्यवस्था गर्नेतर्फ नरैनापुर रहेको छ,’ शिक्षा प्रमुख थारुले बताए ।

यो परीवर्तन आदर्श माविमा मात्रै नभएर पालिकाको वडा नम्बर ६, भोजपुरमा रहेको जयकिसान माविमा पनि देख्न सकिन्छ । मुस्किलले ४ सय विद्यार्थी भर्ना हुने जयकिसानमा अहिले १ हजार भन्दा बढी विद्यार्थी छन् । जसका कारण पालिकाले आफ्नै स्रोतमा १२ वटा कक्षा कोठा निर्माण गरिरहेको छ । त्यस्तै वडा नम्बर ५ मा रहेको महेन्द्र मावि, वडा नम्बर ६ मा रहेको नेरा माविलगायत १० वटा आधारभुतमा पनि विद्यार्थीको संख्या यो ५ वर्षमा उल्लेखनीय बढेको छ भने विद्यार्थीको चापलाई मध्यनजर गर्दै पालिकाले कक्षा कोठा थप्ने कार्यलाई निरन्तरता दिँई रहेको पालिकाका शिक्षा प्रमुख थारुले बताए ।

शिक्षा प्रमुख थारुका अनुसार ५ वर्षअघि नरैनापुरका सबै विद्यालयको भर्ना संख्या सयौंको संख्यामा थियो भने त्यो संख्या अहिले बढेर १३ हजार बढी पुगिसकेको छ । थारुका अनुसार नरैनापुरले आर्थिक वर्ष २०७९र८० मा ससर्ततर्फको विशेष अनुदानबाट आएको १ करोड ५० लाख रुपैयाँबाट पालिकामा रहेका विद्यालयमा खानेपानी, फर्निचर, विद्युतीकरण, आइसिटि कक्षा निर्माणलगायतमा खर्च गरेको छ ।

नरैनापुमा रहेका हरेक विद्यालय यो ५ वर्षमा भर्ना हुने र उपस्थित हुने विद्यार्थीको संख्या सय प्रतिशतभन्दा बढी रहेको पालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन् । उनी नरैनापुरमा अरु किसिमका विकासभन्दा शिक्षामा विकास गर्न अति आवश्यक रहेकाले आफूले शिक्षालाई बढी प्राथमिकता दिएको बताउँछन् । ‘अरु विकास निर्माणका काम भनेको त विस्तारै हुँदै जान्छन् । मानिसहरुलाई आवश्यकता परेका कुराहरु हरेक वर्ष भई नै रहन्छन् । तर शिक्षामा गुणस्तर र परीवर्तन हुन सकेन भने अरु विकासको मतलब छैन,’ शाहले भने ।
शाहलाई शिक्षामा यो परीवर्तन कसरी भन्ने प्रश्नमा उनी भन्छन्, ‘नरैनापुरमा मेरो यो दोस्रो कार्यकाल हो । पालिकाको अध्यक्षको रुपमा एक कार्यकाल सकेर दोस्रो कार्यकाल निर्वाचित भएर आउँदासम्म नरैनापुरमा बालबालिकालाई स्कुलसम्म ल्याउन हामीले सबैभन्दा धेरै दुःख ग¥या छौं । हामीहरु प्रत्येक घर–घरमा पुगेर अभिभावकालाई सम्झाएका छौं ।

बालबालिकालाई विद्यालय पठाउन एउटै अभिभावकलाई धेरैपटक भेटेका छौं । कतिले त किन पठाउने रु भनेर झगडा पनि गरे हामीसँग । तर हामी पछि हटेनौ । अहिले सबै त भन्दिन तर धेरै अभिभावकलाई बच्चालाई स्कुल पठाउनु पर्छ भन्ने चेतना भइसक्या छ ।’

त्यस्तै नरैनापुरले शिक्षामा अर्को महत्वपूर्ण काम पनि गर्दैछ । नरैनापुरले वडा २, मियापुरवामा कन्या विद्यालय खोल्ने तयारी गरिहेको छ । लगभग ५ करोडको लागानीमा कक्षा १२ सम्म अध्यापन गराउने उद्देश्यका साथ पालिकाले कन्या विद्यालय खोल्न लागेको हो । जसका लागि नरैनापुरले २० कटठा जमिनसमेत छुट्याइसकेको अध्यक्ष शाहले जानकारी दिए । ‘हाम्रो समाजमा मुस्लिम र मधेसी धेरै छन् । अझै पनि केही छात्राहरु विद्यालय आउन वञ्चित छन् । उनीहरुका लागि सहज होस् भनेर हामीले कन्या विद्यालय निर्माण गर्न लागेका हौं,’ अध्यक्ष साहले भने ।

नरैनापुरले विद्यालयहरुमा विद्यार्थीको उल्लेखनीय सहभागिता गराए पनि पालिकाभरी कति बालबालिका छन् भन्ने तथ्यांक भने छैन । जसका लागि पालिकाले तथ्यांक लिने काम गरिरहेको छ । यसर्थ आउँदा वर्षमा नरैनापुरका विद्यालयमा बालबालिको संख्या थप हुन सक्ने सम्भावना देखिन्छ र कक्षा कोठाको पनि अभाव विद्यालयले खेप्नुपर्ने हुनुसक्छ ।

यसर्थ नरैनापुले पालिकावासीमा शिक्षाप्रति जगाएको चेतना पालिकाका लागि ठूलो परीवर्तन हो । जसका कारण पालिकालाई थप जिम्मेवारी प्रदान भएको छ । हाल नरैनापुरको वडा नम्बर १, २ र ३ का सम्पूर्ण विद्यार्थीहरु आर्दशमा अध्ययन गरिरहेका छन् । जहाँ थप एउटा माध्यमिक विद्यालयको आवश्यकता देखिएको छ । साथै अन्य वडामा पनि समुदायको चाप हेरेर मावि विद्यालय थप्नेदेखि भएका विद्यालयमा भौतिक संरचना निर्माण गर्नुपर्ने दायित्व नरैनापुरमाथि रहेको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.