राप्तीसोनारी- कोहलपुर नगरपालिकाले पहिलो गर्भवती महिलाको अनिवार्य सिकलसेल एनिमिया टेष्ट गराउने योजना ल्याएको छ । नगरपालिका भित्रका १५ वटै वडामा यो अभियान सुरु गरेको हो ।
कोहलपुर नगरपालिकामा थारु समुदायसंगसंंगै अन्य समुदायहरुमा समेत सिकलसेल एनिमिया रोग देखा परेपछि पहिलो गर्भवती महिलाले अनिवार्य सिकलसेल एनिमियाको टेष्ट गराउनुपर्ने अभियान सञ्चालन गरेको सिकलसेल एनिमिया प्रयोगशालाका ल्याब प्रमुख शिव गौतमले जानकारी दिए ।
‘९ महिनाको दादुराको खोप लगाएपछि अनिवार्य प्रत्येक महिनाको ६/७ गते रुपमा सिकलसेल एनिमियाको अनिवार्य रगत परिक्षण गर्र्नुपर्ने अभियान सञ्चालन गरेका छौ,’ उनले भने, ‘अहिले गाउँघरमा नै गएर रगत परिक्षण गर्नुपर्छ भन्ने सन्देशहरु दिइरहेका छौं ।’
गौतमका अनुसार पहिलेको तुलना भन्दा ५० प्रतिशतले बृद्धि भएको छ । अहिले १५ हजार भन्दा बढिले सिकलसेल एनिमियाको टेष्ट भइसकेको र करिब २० जना भन्दा बढि गर्भवती महिलाहरुले समेत टेष्ट गरिसक्नुभएको छ, उनले थपे, ९ महिनाको दादुरा खोपपछि सिकलसेल एनिमियाको टेष्ट भने भखरै सुरु गरेका छौं ।’ अहिले दैनिक रुपमा प्रयोगशालामा आएर पनि थारु समुदाय तथा अन्य समुदायहरुले पनि सिकलसेल टेष्ट गराइराखेको गौतमले बताए ।
यस्तै अभियानमा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले सिकलसेल एनिमिया टेष्ट गराएका रिपोटहरुको वितरण गरेकी थिइन् । उनले सामान्य अथवा हरियो कार्ड वितरण गरेकी थिइन् ।
उपप्रमुख सुवेदीले पहिलेको तुलनामा अहिले सिकलसेल टेष्ट गर्नेहरुको संख्या बढ्नु पालिकाको सफलता भएको बताइन् । उनले ८ सय बढि सामान्य अथवा हरियो कार्ड वितरण गरेकी थिइन् । थारु समुदायहरुले अनिवार्य रुपमा सिकलसेल एनिमियाको टेष्ट गराउनु हुन उपप्रमुख सुवेदीले अनुरोध समेत गरेकी थिइन् ।
यस्तै सिकलसेल विज्ञ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थारु र अन्य समुदायमा देखिएको सिकेलसेल रोगले पारिरहेको असर कहालिलाग्दो रहेकोले जनचेतना फैलाउनुपर्ने बताएका थिए ।
‘सिकलसेल रोथ नियन्त्रण गर्न समूदाय, टोलमा जनचेतना जगाउनु जरुरी छ,’ उनले भने, ‘सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी–रोगी बीचको बिहेबारी रोक्न आवश्यक छ ।’ त्यसैले यसलाई स्थानीय स्तरमै जनचेतना फैलाउन आवश्यक रहेकाले सबैले यसलाई गम्भिर रुपमा लिनुहुन अनुरोध गरेका थिए ।
सिकलसेल अभियानमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक अनिल सेन ठकुरी लगायत ल्याब प्रयोगशालाको टिम समेत सहभागि रहेको थियो ।
के हो सिकसेल एनिमिया ?
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले सोही अवसरमा यस रोगको बारेमा उपयोगी जानकारी उपलब्ध गराइएको छ । सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाके, बर्दिया, दाङ्ग लगायतका तराईका जिल्लाहरु बढी प्रभावित छन् ।
सिकलसेल एनिमिया किन हुन्छ ?
सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ । सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको –विकृत) हुन्छ ।
यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ ।
कुन अवस्थामा लाग्न सक्छ ?
सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।
सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजन सहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पुर्याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्दछ ।
यसकै कारण फोक्सोमा रगत पुर्याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।
कसरी बच्ने ?
सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरु मध्यमा पर्दछ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।
कसलाई हुन्छ ?
परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक छ ।