कोहलपुर- बाँकेको कोहलपुरमा आज वृह्त रक्तदान कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र जेसिस कोहलपुरको आयोजना, कोहलपुर कपडा व्यवसायी संघको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको काँग्रेसका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
जेसिस कोहलपुरका अध्यक्ष ध्र्रुव आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, क्षेत्रीय सचिव बस्नेत, कोहलपुर २ का वडा अध्यक्ष हरि सिंह कठायत, ज्ञानोदय पुस्तकालयका शिवध्वज शाही लगायतका ५३ जनाले रक्तदान गर्नुभएको थियो । सचिव बस्नेतका अनुसार शहिद दिवसको अवसर पारेर रक्तदान तथा मेडिकल कलेजका विरामीलाई फलफूल कार्यक्रमको आयोजना गरिएको थियो ।
काँग्रेस बाँके क्षेत्र नं.१ का सभापति पोषण केसीको सभापतित्वमा भएको रक्तदान तथा फलफूल वितरण कार्यक्रममा बोल्दै काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुसालले रक्तदाननै जीवन दान भएकाले रक्तदान गर्नु मानवीय सेवा भएको बताउनुभयो । उहाँले रगतकै अभावका कारण कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
‘रगत अभावकै कारण कसैको ज्यान जानु नपरोस् भन्ने कुरालाई दृष्टिगत गरेर रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनिय कार्य हो उहाँले भन्नुभयो–‘रक्तदानप्रति प्रेरित गर्न अझै आवश्यक छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले रक्तदान गरेकै कारण कोही पनि कमजोर नहुने भन्दै उमेर पुगेका र रक्तदान गर्न मिल्ने व्यक्तिहरुले नियमित रक्तदान गर्न आवश्यक रहेको बताउनुभयो ।