खिम प्रकाश डि.सी
सल्यान, १८ फागुन ।
सल्यानको थारमारेमा संन्चालन भएको १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको छ । सुरुआतदेखि नै विभिन्न खेलमा दबदबा बनाइरहेको छत्रेश्वरीले १० स्वर्ण, १५ रजत र २ कांस्य गरी २७ पदकसहित रनिङ शिल्डको उपाधि जितेको हो ।
प्रतिस्पर्धामा आएको बाग्चौरलाई १२ पदकले पछि पार्दै छत्रेश्वरीले रनिङ शिल्डको उपाधि जितेको खेलकुद विकास समितिका अध्यक्ष खडग आचार्यले बताए ।
८ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १५ पदक ल्याएको बाग्चौर नगरपालिका दोस्रो, ७ स्वर्ण, ६ रजत र ६ कांस्य गरी १९ पदक जितेको कुमाख गाउँपालिका तेस्रो भएको उनले जनाए । उनका अनुसार ६ स्वर्ण, ४ रजत, १० कांस्य गरी २० पदक ल्याएको शारदा नगरपालिका सान्त्वना भएको थियो ।
दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत, ६ कांस्य, सिद्धकुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत, २ कांस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कांस्य, बन्गाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कांस्य, कालिमाटी गाउँपालिकाले १ रजत र १ कांस्य तथा त्रिवेणी गाउँपालिकाले ४ कांस्य पदक हात पारेका थिए ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड १५ देखि १८ गतेसम्म बाग्चौर नगरपालिकाको थारमारेमा सञ्चालन भएको थियो । भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, सटफुट गरी तीन दर्जनभन्दा बढी खेलका लागि जिल्लाका १० पालिकाका ५० जनाभन्दा बढी विद्यालयका ५ सय विद्यार्थी सहभागी भएका थिए ।