राप्तीसोनारी- बाँकेमा सम्पन्न १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको छ । कूल एक सय ७२ पदकमध्ये ७२ वटा पदक हासिल गर्दै कोहलपुर प्रथम भएको हो ।
कोहलपुरले २१ स्वर्ण, २२ रजत र २९ कास्यपदक प्राप्त गरेको छ । यसैगरी, १२–१२ स्वर्ण र ८ कास्य गरी ३२ पदकसहित राप्तीसोनारी गाउँपालिका द्वितीय र ६ स्वर्ण, नौ रजत र सात कास्य गरी २२ पदकसहित नेपालगन्ज उपमहानगरपालिका तृतीय भएको छ ।
आइतबार एक कार्यक्रम गरेर बाँके जिल्ला खेलकुद विकास समितिले समापन कार्यक्रम गरी पुरस्कार वितरण गरेको छ । ओलम्पियन सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनासमेतको उपस्थितिमा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतियोगितामा बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, तीन रजत र आठ कास्यपदक प्राप्त गरेको छ भने खजुरा गाउँपालिकाले चार स्वर्ण, दुई रजत र नौ कास्यपद प्राप्त गरेको छ । जानकी गाउँपालिकाले तीन कास्य र नरैनापुर गाउँपालिकाले एक स्वर्णपदक प्राप्त गरेका छन् ।