खिम प्रकाश डि.सी
राप्तीसोनारी– बाँकेको राप्ती सोनारी गाउँपालिमा शनिबार १ सय २० जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रमको उद्घाटन राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गरे ।
‘रक्तदान जिवन दान भन्ने’ मूल नाराका साथ राप्ती सोनारी सहकारी संजालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पालिका उपाध्यक्ष मनिषसिंह थारुले समेत रक्तदान गरिन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले बेला–बेलामा अस्पतालहरुमा रगतको अभाव हुने भएकोले रक्तदान कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । उनले आउँदा दिनमा पालिकाले पनि रक्तदान कार्यक्रम गर्ने बताए ।
६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन जिल्ला सहकारी संघ लिमिटेड बाँकेले निर्धारित १० दिने कार्यक्रमअन्तर्गत शनिबार राप्ती सोनारीमा रक्तदान कार्यक्रम गरिएको राप्ती सोनारी सहकारी संजाल समितिका अध्यक्ष देव खाँणले बताए । उनले सहकारी प्रति स्थानीयको अझ निकट सम्बन्ध बनाउन र गर्भवती महिला तथा अन्य आपत्तकालीन अवस्थामा आएका बिरामीहरुलाई केही भएपनि सहज होस् भन्ने उद्देश्यले जिल्लाबाटै यस्ता कार्यक्रम तयार गरेको बताए ।
यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर रक्त संचार केन्द्रका प्रमुख राजेन्द्रकुमार महतरासँग हाइवे पोष्ट राष्ट्रिय दैनिकका समाचारदाता खिम प्रकाश डिसीले गरेको कुराकानीको सम्पादित अंश ।
रक्तदानका फाइदा बेफाइदा ? रक्तदान गर्दा के–के कुराको चेक हुन्छ ?
‘दान गरेको रगतले गर्भवती महिला तथा अन्य दुर्घटना पर्दा होस वा कुनै पनि अप्रेशनहरु र कुनै कुनै वंशानुगत रोग लागेको अवस्थामा पनि रगतको आवस्यकता पर्दछ । त्यसैले कुनै पनि बिरामीलाई समयमै बचाउन वा रगतका कारण उसलाई मृत्युबाट बचाउनका लागि रक्तदान गरिन्छ । तसर्थ रक्तदान गर्नलाई रक्तदाता चाहिन्छ, रगतको विकल्पमा अरुको रगत विकल्प होइन । मानिसलाई मानिसकै रगतको जरुरत पर्दछ । त्यसैले रक्तदाताले दान गरेको रगतलाई प्रतिकृया र टेष्ट गरेर हाम्रा बिरामीसम्म ट्रासमिसन गर्नलाई जम्मा गरिन्छ ।
यसरी दाताहरुले रक्तदान गर्न पनि केही निष्चित क्राईट यरियाहरु छन् । रक्तदाता कस्तो हुनुपर्छ रगत कसले दिन सक्छ, भन्नेबारे पनि रक्तदाताको उमेरको हद छ । १८ वर्ष पूरा भएर ६५ वर्षसम्मका स्वस्थ मानिसले रक्तदान गर्न सक्दछन् । दाताहरुको प्रेसरकै कुरामा पनि हामीले कम्तिमा ११०/७० रक्तचाप र अधिकतम रक्तचाप १६०/९६ सम्मको साथै कुनै–कुनै नियमित रक्तदाताको हकमा १६०/१०० सम्मको पनि लिने गरिन्छ । अर्को कुरा हेमोग्लोबिन पनि १२ ग्राम प्रतिशत भन्दामाथि हुनुपर्ने हुन्छ । यो कुरा महिला पुरुष दुवैमा लागू हुन्छ । यस्तै तौल पनि कम्तिमा ४५ केजीभन्दा माथि भएका मानिसले रक्तदान गर्न सक्छन् ।’