बाँके- जानकी गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) तथा वित्तीय सुशासन जोखिम मूल्यांकन (FRN)
सम्बन्धि दुई दिने अभिमुखीकरण तथा मूल्यांकन कार्यशाला सुरु भएको छ । उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षतामा कार्यशाला सुरु भएको हो ।
कार्यशालामा बोल्दै उपाध्यक्ष यादवले आफूले सम्पादन गरेका कामहरुको आफैं मूल्यांकन गर्ने विधिका बारेमा अझ गहिराईमा जानकारी हासिल गरे आगामी दिनहरुमा काम गर्ने तवर(तरिका र प्रणालीलाई ब्यवस्थित बनाउन सहयोग पुग्ने भन्दै कार्यशााला फलदायी हुने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले स्वमूल्यांकन विधिका सूचकहरु, काम गर्ने तरिका, कागजपत्र मिलाउने तरिका, स्वमूल्यांकनलाई पुष्ट्याँई गर्ने आधार लगायतका विषयमा कार्यशालाबाट अझ धेरै जानकारी हासिल हुने बताए । संघ र प्रदेश सरकारबाट प्राप्त हुने चार किसिमका अनुदान यही मूल्यांकनका आधारमा प्राप्त हुने भन्दै उनले यसलाई मसिनो गरी बुझ्न जरुरी रहेको बताए ।
कार्यशालामा योजना शाखा प्रमुख शोभा पौडेलले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय सुशासन जोखिम मूल्यांकन, लेखा शाखा प्रमुख मतिन अन्सरीले बार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक शाखा प्रमुख जितबहादुर श्रेष्ठले सार्वजनिक सेवा प्रवाह, महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले सामाजिक समावेशीकरण र वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र वाजपेयीले वातावरण संरक्षण तथा विपद व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मो। रजा राई, २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, कार्यपालिका सदस्य रामआँचल धोवीसहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।