राप्तीसोनारी– राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सिपमूलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्रीसमेत रहेकी कृष्णा केसी (नमुना) को निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकमबाट तालिम दिन थालिएको हो ।
मंगलबार मन्त्री केसीले उद्घाटन गरेको तालिममा राप्ती सोनारी गाउँपालिका सबै वडाबाट १ सय ३५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै मन्त्री केसीले आफ्नो निर्वाचन क्षेत्रमा क्रमश बेरोजगारीको समस्या हटाउने उद्देश्यले तालिमको लागि बजेट विनियोजन गरिएको बताइन् ।
पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको लागि सिपमूलक तालिम सञ्चालन गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिइन् ।
अहिलेलाई बेसिक तालिमको लागि बजेट छुट्याइएको बताउँदै उनले आगामी दिनमा एडभान्स तालिम सञ्चालन गर्न रकम विनियोजन गरिने प्रतिवद्धता गरेकी हुन् । उनका अनुसार महिलाहरुका लागि ब्युटीपार्लर, सिलाई कटाई, कम्प्युटर तालिम सञ्चालन हुनेछ । पुरुषहरुका लागि हाउस वायरिङ्ग र मोबाइल मर्मत तालिम सुरु गरिएको मन्त्री केसीले जानकारी दिइन् । प्रत्येक वडाबाट १५ जनाका दरले १ सय ३५ जनालाई विभिन्न विधामा सिपमूलक तालिमहरु दिइनेछ ।
वडा नम्बर २, ३, ६ र ८ मा सिलाई कटाई, वडा नम्बर ५ र ९ मा ब्युटीपार्लर, वडा नम्बर ७ मा हाउस वायरिङ्ग, ४ मा कम्प्युटर र १ मा मोबाइल तालिम सञ्चालन हुनेछ । सहजताको लागि सबै तालिमहरु सम्बन्धित वडामा नै हुने व्यवस्था मिलाइएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।
३ सय ६० घण्टाको तालिमपश्चात सहभागीहरुलाई सामग्रीसमेत दिने मन्त्री केसीले बताइन् । ‘आत्मनिर्भर बन्नलाई यो तालिमले धेरै नै सहयोग गर्नेछ भन्ने मैले अपेक्षा लिएकी छुँ’ उनले भन्नि, ‘तालिममा तपाईहरुले राम्रोसँग ध्यान दिएर पूरै अवधि बस्नुहोला ।’