spot_img

नरैनापुरमा मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस

राप्तीसोनारी- ११३औं अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । यसपटको नारी दिवस नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।

नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताए । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको उल्लेख गरे । सांस्कृतिक तथा परम्परावादी सोच अनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई छ ।

अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई छ । नरैनापुर गाउँपालिका महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको शाहले बताए ।

परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक, सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताइन् । नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्णा चन्दले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन् ।

नरैनापुर गाउँपालिका वडा नं ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, अतिथिहरुमा परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नं २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख चन्द, सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतो, बरिष्ठ प्रहरी नायब निरीक्षक पुष्पराज जोशी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन पम्फा परियारले गरेकी थिइन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.