राप्तीसोनारी- देशैभर बेला–बेलामा भौतिक पूर्वाधार निर्माणमा लापरबाही भएको तथा म्याद थप हुँदासमेत निर्माण सम्पन्न नभएका घटनाहरु देखिने र सुनिने गरिरहेका छन् । त्यस्तै बाँकेमा पनि भौतिक निर्माणका कामहरु केही अधुरै छन् त केही म्याद थप हुँदासमेत सम्पन्न नभएका घटनाहरु धेरै छन् ।
जसमध्येको एउटा भौतिक निर्माणको काम हो, खजुरा गाउँपालिका–२, सी गाउँमा निर्माणाधीन पुल । उक्त पुल निर्माण अवधि सकिएपश्चात थप १ वर्ष म्याद थप भएको समय पनि सकिँदासम्म निर्माण सम्पन्न हुने कुनै निधो देखिँदैन ।
प्रदेश सरकारको बजेटमा निर्माण भई रहेको उक्त पुल गत २०७७ फागुन १९ गते सडक पूर्वाधार विकास कार्यालय, नेपालगन्जसँग गाल्भारसिद्धार्थ दर्शन जेभिले २०७९ असार २५ गतेसम्म निर्माण सम्मन गर्नेगरी सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार गल्भा÷सिद्धार्थले सम्झौता अवधिभर ३५ प्रतिशतमात्र काम सम्पन्न गर्यो ।
नेपाल सरकारले गत वर्ष विभिन्न कारण देखाइ देशैभर समयमा निर्माण सम्पन्न नगरेका निर्माण कम्पनीलाई १ वर्षको म्याद थप गर्यो र गाल्भाले उक्त पुल निर्माण सम्पन्न गर्न म्याद थप पायो । यसरी अब गाल्भाले २०८० असार २५ गतेसम्म उक्त निर्माण सम्पन्न गर्न १ वर्षको समय पाए पनि पुल निर्माणमा निर्माण कम्पनीले लापरबाही गर्दै आएको सडक पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर ललितबहादुर न्यौपाने बताउँछन् । उनका अनुसार म्याद थप भएको ८ महिना वितिसक्दासमेत निर्माण कम्पनीले ४५ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ ।
उक्त पुलको लागत ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । जसमा निर्माण कम्पनीले काम सम्पन्नको आधारमा सोही बारबरको रकम लगिसकेको छ ।
निर्माण कम्पनीले काममा लापरबाही गरेको भन्दै हालसम्म ४ पटक ताकेता गरिसकेको छ भने कयौंपटक मौखिक प्रतिबद्धता लिई सकेको न्यौपानेले । तर पनि गल्भाले पुनः निर्माणमा लापरबाही गरेपछि २ पटकसम्म बैंक ग्यारेन्टी रोक्नका लागि सडक विभागले चिट्ठी काटेको उनले बताए ।
‘काम भएन, ढिला भयो भनेर हामीले ताकेता गरेको गरै छौं । तर गाल्भाले भने १–२ जना कामदार लगाएर काम गरेको जस्तो मात्र देखिएको छ,’ न्यौपानेले बताए ।
गल्भारसिद्धार्थ दर्शन जेभी नरहरी थपलियाको निर्माण कम्पनी हो । उनले उक्त पुल निर्माण गर्न पेटी ठेकेदार चक्रबहादुर शाहलाई जिम्मा दिएका हुन् ।
यसअघि सडक पूर्वाधारले पहिलो चिठी २०७८ वैशाख ९ गते निर्माण कम्पनीलाई चाडो काम सुरु गर्न पठाएको थियो । सम्झौता भएको दुई महिनासम्म पनि काम सुरु नभएपछि काम सुरु गर्न कार्यालयले चिठी पठाएको थियो । त्यसपछि काम सुरु त भयो तर वर्षातका कारण फेरि रोकियो ।
सो समयपछि पुनः सडक पूर्वाधारले २०७८ कात्तिक २५ गते अर्को चिठी पठायो । ठेकेदारले फेरि काम बन्द गरेपछि सडकले काम सुरु गर्न सचेत गराएको थियो । यो सिलसिला त्यही रोकिएन फेरि २०७८ मंसिर २५ गते तेस्रोपटक सडकले सचेत गराउन चिठी पठाएको प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले बताए ।
अन्तत तीनपटक चिठी पठाइ सकेपछि सडक पूर्वाधारले निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चौथोपटक चिठी पठायो । सडकले २०७८ माघ ९ गते बैंकलाई उक्त निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चिठी पठाएको थियो । त्यसपछि माघ २३ गते समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता पत्र निर्माण कम्पनीले दिएको उनले भने ।
पौडेलका अनुसार निर्माण समाग्रीमा मूल्य बढेका कारण समयमा काम सम्पन्न गर्न नसकिएको बताउँदै आएको छ । तर नियमअनुसार सम्झौता पत्रमा उल्लेख गरिएको रकमबाहेक अन्य रकम थप हुने प्रवधान भने छैन ।
स्थनीयको विरोधका बीच पुल निर्माण गरियो
उक्त पुलले नेपालगन्ज हुँदै परसपुरलाई गौघाट रोडसम्म जोड्छ । तर यो वर्ष पनि पुल समयमा निर्माण नभए अघिल्लो वर्षातमा झै यो वर्ष पनि खजुरा गाउँपालिका वडा नम्बर १ र २ का वडावासीले सास्ती पाउने पक्का रहेको देखिन्छ । यसरी वैकल्पिक पुल निर्माण नगरी उक्त पुल निर्माण गरिनु चरम लापरबाही भएको स्थानीयको भनाइ छ ।
पुल निर्माणको नयाँ पुल बनाएर मात्र पुरानो पुल भत्काउने माग गरेका थिए । तर नयाँ पुलको काम थालनी नगर्दै पुरानो पुल भत्काइयो । वैकल्पिक पुल नहुँदा स्थानीयहरुले उक्त स्थानमा सामान्य हेमपाइपसहितको बाटो बनाएका छन् । जुन आफैंमा जोखिमपूर्ण छ ।
गत वर्षातको समयमा पुरानो पुल भत्काएर नयाँ पुल निर्माण सुरु भएपछि हिँड्ड्लका लागि काठको पुल बनाइएको थियो । जसका कारण धेरै मानिस उक्त काठको पुलबाट लडेका थिए ।
वडा नम्बर २ सी गाउँका मुकेस बुढाथोकी गत वर्ष रातको समयमा पुलचोकदेखि सी गाउँ आउने क्रममा सोही काठको पुलबाट मोटरसाइलसहित खसेका थिए । पछि स्थानीयले थाहा पाएपछि उनलाई रातको समयमा नै उद्दार गरेका थिए ।
वडावासीका लागि उक्त पुलको विकल्पमा ६ किलोमिटर उत्तर खजुरा वा दक्षिणमा जलपोखरीमा रहेको पुलको प्रयोग गर्नु पर्ने बाध्यता रहन्छ ।