राप्तीसोनारी- भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।
कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा कडाइ गर्दा ठूलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।
सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शीतल नगरमा लुकाई राखेको एक लाख ५० हजार भन्दा बढी मूल्यको २१९ ओटा कुखुरालाई बाँके प्रहरीले बरामद गर्न सफल भएको छ । सोही प्रकारले अन्य स्थानबाट पनि कुखुरा नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध लगत्तै प्रहरीले सुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।
उनले सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गरे । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताए ।
कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताए ।
नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए ।
भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।
सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताए ।
उनले विभिन्न नाकामा खटिने प्रहरीकै मिलेमतोमा निरन्तर भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली किसान र व्यवसायी पीडित बनेको पनि दुःखेसो गरे ।
जमुनाहा, साईगाउँ र नरैनापुर क्षेत्रबाट दैनिक ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानको गुनासो छ । पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदा पनि कारबाही नभएको अधिकांश व्यवसायी र किसानले बताएका छन् ।