spot_img

विकासमा फड्को मार्दै नलगाड

विकास निर्माण गर्दै गर्दा यहाँको भौगोलिक विकटाका कारण राजश्व संकलन कमै हुन्छ । सुगमका पालिकाका सरह हामीलाई बजेट आउँदै गर्दा काम गर्दा थोरै काम भएको देखिने समस्या भएकाले संघ, प्रदेशबाट आउने बजेटमा कमी भएको महसुस हुन्छ,’ रावतले भने ।


राप्तीसोनारी– दुर्गमको उपमा पाएको डोल्पा जिल्लासँग सीमाना जोडिएको पलिका हो, जाजरकोटको नलगाड नगरपालिका । स्रोतसाधन तथा बजेट अभाव, भौगोलिक विकटता, पूर्वाधारको न्यून पहुँचका बाबजुत पनि विकासको लहरलाई पछ्याउँदै नलगाले ।
नलगाडको वडा नम्बर १२ को तल्लो बगरमा रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालयमा यो वर्ष ५० लाख रुपैयाँको लागतमा खेलकुद मैदान बनेको छ । वडा अध्यक्ष मोहनबहादुर खत्री नयाँ जनप्रतिनिधि आएको एक वर्षमै ढुंगै–ढुंगा, माटै नभएको उक्त स्थानमा खेलकुद मैदान बनाउनु आफ्नो कार्यकालको ठूलो उपलब्धी भएको बताउँछन् ।
‘यसमा लागेको लागतमध्ये २३ लाख रुपैयाँ नगरपालिकाले छुट्याई सकेको छ । बाँकी भुक्तानी क्रमागत नगरपालिकाले दिने भएको छ,’ वडा अध्यक्ष खत्रीले भने, ‘माटै नभएको यो ठाउँमा मेरो कार्यकालमा यो काम राम्रो भएको म महसुस गर्छु ।’
६ कक्षा देखि १२ कक्षासम्म अध्यापन हुने वीरेन्द्रमा हाल ७ सय १५ जना विद्यार्थी रहेका छन् । व्यवस्थापन संकायमा समेत अध्ययनको स्वीकृति पाइसकेको वीरेन्द्रमा हाल सिभिल कक्षाहरु भइरहेको विद्यालयका प्रअ चन्द्रबहादुर केसीले बताए । ‘हामीसँग अहिले सिभिल ल्याबका सामनहरु प्रयाप्तै छ । हामीसँग कम्प्युटर ल्याबदेखि सबै सुविधाहरु छन् । प्रत्येक शिक्षकहरुलाई कम्प्युटर प्रदान गरिएको छ । प्रत्येक कक्षाहरु प्रोजेक्टरमार्फत पढाई हुन्छ,’ प्रअ केसीले भने ।
यद्यपी केसी नगरपालिकाले वीरेन्द्र माविलाई अझै पनि आवश्यक सहयोग गर्न नसकेको उनको गुनासो भने गर्छन् ।
दुर्गम भू–परिवेशले समेटियता पनि नलगाडले यस्ता थुर्पै विकास निर्माणका कामहरु गर्न सफल भएको छ । नलगाडमा ५ वर्षे आवधिक योजना, मध्यकालीन खर्च संरचना निर्माण भई सकेको प्रमुख प्रकासकिय अधिकृत मानबहादुर गिरिले बताए । त्यो आवधिक योजना र मध्यकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्र्ष २०७९÷८० असार १० गते ल्याई सकेको बजेटलाई बजेट सीमाको परिधिमा रहेर सबै किसिमका योजनाहरु सम्झौता गर्ने काम सकिएको उनले बताए ।
नलगाडका प्रमुख डम्बरबहादुर रावत यो आर्थिक वर्षमा कतै मर्मत सम्भार त कतै स्तरोन्नतिका कामहरु भइरहेको बताउँछन् । ‘२ नम्बर कालीमाटीदेखि ३, ४ र ६ नम्बरको सेन्टरमा पर्ने कैनासम्म पक्की रोडको लागि टेन्डर भइसकेको छ । अर्को कालीमाटीदेखि खानटाकुरा हुँदै ५ नम्बर वडासम्म स्तरोन्नतिका लागि कार्यक्रम परेको छ । अन्य चाऔंली चोरदेखि सानीवन हुँदै कट्केसम्म जोड्ने ट्रयाक ओपन भएको छ र ९ नम्बरमा पनि सडक निर्माणको कामहरु भइरहेको छ,’ प्रमुख रावतले भने । नलगाडले शिक्षा सुधारका लागि थुर्पै विद्यालयका भवनहरु पनि निर्माण गरेको उनी बताउँछन् ।
नलगाडले विकट परिवेश र स्रोत साधनको कमीका बाबजुत पनि ५ वर्षमा १ सय ५० किलोमिटर बढी नयाँ सडक खोल्ने कामदेखि थुर्पै भौतिक संरचना बनाउन सफल भएको योजना शाखा प्रमुख नारायण खत्री बताउँछन् । खत्रीका अनुसार नलगाडमा रहेको १३ वटा वडाका सबै कार्यालय भवन निर्माणको कामदेखि वडा नम्बर १३ र ९ बाहेक सबै वडाका केन्द्रसम्म कच्ची सडक विस्तारको काम सम्पन्न भइसकेको छ ।
‘सडक नपुगेको दुई वटा वडामध्ये ९ नम्बर वडामा यो आर्थिक वर्षसम्म कच्ची सडक पुर्याने लक्ष्यका साथ काम भइरहेको छ । वडा नम्बर १३ चाही स्वभाविक रुपमा त्यो डोल्पासँग जोडिएको वडा र धेरै नै विकट भएका कारण अर्को आर्थिक वर्षसम्म १३ नम्बरको केन्द्रसम्म पनि सडक पुर्याउने योजनामा हामी छौं,’ योजना शाखा प्रमुख खत्रीले भने ।
नलगाडले यो वर्षदेखि असारे विकास पद्यतीलाई तोड्ने लक्ष्य पनि लिएको छ । खत्रीका अनुसार यो आर्थिक वर्षमा नलगाडले प्राप्त सबै आयोजनाहरुको असोज महिनाभित्र सम्झौता गरेर मंसिर, पुषमा कार्यसम्पादन सुरु गरिसकेको छ भने वैशाख र जेठसम्म सबै भुक्तान गरिसक्ने लक्ष्य लिएको छ ।
‘यो वर्ष कार्यालय प्रमुखले सबै स्थानीय तहमा रहेको असारमा भुक्तानी गर्ने पद्यतीलाई तोड्ने लक्ष्य लिनु भएको छ । माथि संघीय सरकारले प्रदेश सरकारले जुन जतिबेला बजेट पठाए पनि काम वैशाख, जेठ, असारमा गर्नुपर्ने पद्यतीलाई दूर गरौंं, सुरुवात नलगाड नगरपालिकाबाट सुरु गरौं भनेर लागेका छौं । त्यसैले यो वर्ष विगतका वर्षभन्दा केही छिटो भुक्तानी दिन सक्छौं की भन्नेमा छौं,’ खत्रीले भने ।
नलगाडले भौतिक संरचना निर्माणमात्रै नभएर बनेका र बनिरहेका संरचनाको नियमित अनुगमन गर्ने कामलाई पनि अधिक प्राथमिकता दिएको पाइन्छ । नलगाड नगरपालिकाकी उप–प्रमुख अरितासिंह ठकुरीका अनुसार नलगाडले अनुगमन गरेरे मात्रै भुक्तानी दिने गरेको छ ।
नलगाड नगरपालिकाको वडा नम्बर ८ मा रंगशाला र प्याराफिट निर्माणको काम सकेर ठेकेदार कम्पनीले भदौ महिनामा भुक्तानीका लागि निवेदन पेश गरेपछि उप–प्रमुखसहितको टोली निर्माण स्थलमा अनुमगनका लागि जाँदा जति प्याराफिट बन्नुपर्ने थियो सोहीअनुसार निर्माण सम्पन्न नभएको पाइएपछि काम सम्पन्न नभएको भन्दै रकम भुक्तानलाई रोक्का गरेको ठकुरी बताउँछिन् । सोपश्चात निर्माण कम्पनीले प्याराफिट निर्माण सम्पन्न गरेर भुक्तनी लिन आएपछि फेरि उप–प्रमुखको टोलीले फिता लिएर नापजाँच गरी भुक्तानीको प्रक्रिया अघि बढायो थियो ।
‘प्रत्येक योजनामा अनुगमन गर्दै गर्दा कार्यालयबाट प्राविधिक तथा योजना शाखाबाट प्रतिनिधि साथमा लगेर अनुगमन गर्ने गरेका छौं । किनभने त्यहाँको संरचना बन्दै गर्दा त्यहाँको मोडालिटी कसरी बन्छ भन्ने सबै कुरा प्राविधिकलाई थाहा हुन्छ । अनुगमनका क्रममा उहाँहरुलाई यो स्टिमेटअनुसार भएको छ वा छैन, यो संरचना पूरा छ की छैन, यदि छैन भने काम पूरा गर्न लगाएका छौं । हामीहरु असारमा नयाँ जनप्रतिनिधि हुँदै गर्दा पैसा बैंकमा होल्ड राखेर कति काम त पूरा गर्न लगाएका छौं,’ उप–प्रमुख ठकुरीले बताइन् ।
यस्ता घटना नलगाडमा यो आर्थिक वर्षमा थुर्पै भएका छन् । वडा नम्बर १२ को आराखोला सिँचाइ आयोजनामा पनि नलगाडले १२ लाख रुपैयाँ रोकेर थप ३ सय मिटर आरसिसि कुलो बनाएरमात्रै रकम दिएको घटना पनि छ । ‘धेरैजसो योजनामा त फितै लिएर जानु पर्छ । तर काम पूरा नभएका ठाउँमा समय छ भनेर काम पूरा गर्न लगाएका छौं । भुक्तानी लिँदा काम पूरा भएरमात्रै आउनुस् भनेका छौं,’ उनले भनिन् ।
भौतिक संरचनाका क्षेत्र बाहेक सुशासनका क्षेत्रमा पनि नलगाडको काम उल्लेखनिय देखिन्छ । नलगाडका प्रत्येक नागरिकले नगरपालिकाका कार्ययोजना, बजेट तथा सेवाहरुका बारेमा जानकारी पाउनुपर्छ भन्ने मानसिकता जनप्रतिनिधिमा रहेको प्रमुख प्रशासकिय अधिकृत गिरि बताउँछन् ।
‘हामीले पहिला त वडाहरुसँग समन्वय गर्छौ । किनभने नागरिकको प्रत्येक्ष सम्पर्क वडासँग हुन्छ,’ गिरिले भने, ‘अर्को नागरिकलाई सहजताका लागि हेल्प डेस्क स्थापना गरेका छौं । नगरमा डिजिटल नागरिक वडापत्र राखेका छौं ।’
भौगोलिक विकटताका कारण नलगाड ‘टेक्नोलोजी’को विषयमा अलि पछि परेको छ, नलगाड । १३ वटै वडामा संचारमाध्यमको अभाव नलगाडले भोगिरहेको गिरिले बताए । ‘यहि दल्लीमा पनि त्येति राम्रो टेलिफोन सेवा छैन । त्यसका लागि हामीले नेपाल टेलिकमसँग आवश्यक टावर जडान र भएका टावरहरुमा क्षमता वृद्धिका लागि कोडिनेसन गरिरहेका छौं,’ गिरिले भने ।
सुशासन क्षेत्रदेखि, सामाजिक विकास, क्षमता विकासलगायतका कामहरुलाई यस वर्ष फोकस गरेर नलगाडले काम गरिरहेको योजना प्रमुख खत्रीले बताए । ‘सुन्दा पनि दुर्गमको नगरपालिका हो भनिरहँदा आज हाम्रो माझ नेटवर्कको समस्या नभएको ३ दिन भयो तर पनि हामीले गर्ने कामहरुमा केही समस्या आएको छैन,’ योजना प्रमुख खत्रीले भने, ‘हामीहरुसँग सामान्य पहुँच छ र पनि हामीले गर्नुपर्ने कामलाई निरन्तरता दिएका छौं ।’
नलगाडले कालिमाटी बजारमा सिसिटिभि जडान गरेर त्यसको ईलाका प्रहरी कार्यालयले निगरानी गरिरहेको छ । यसबाट चोरी डकैती कम गर्ने प्रयास नलगाडले गरेको प्रमख रावतले बताए ।
यसरी नलगाडले गरेका राम्रा कामहरुको कुरा गर्दै गर्दै ५ वर्ष अघिसम्म सडक संजालले नछोएका कारण कार्यालयसम्म कर्मचारी पैदल पुग्नु परेको तितो यथार्थ नलगाडसँग छ । धेरै समस्याका बाबजुत पनि समृद्ध नलगाड बनाउन जनप्रतिनिधिदेखि कर्मचारीले गरेको मेहेनतलाई नकार्न भने सकिन्न । तर दुर्गममा काम गर्नुको आफ्नै पीडा रहेको प्रमुख रावत बताउँछन् ।
‘विकास निर्माण गर्दै गर्दा यहाँको भौगोलिक विकटाका कारण राजश्व संकलन कमै हुन्छ । सुगमका पालिकाका सरह हामीलाई बजेट आउँदै गर्दा काम गर्दा थोरै काम भएको देखिने समस्या भएकाले संघ, प्रदेशबाट आउने बजेटमा कमी भएको महसुस हुन्छ,’ रावतले भने । रावत विकट क्षेत्र कर्मचारीहरु आउन गाह्रो मान्ने गरेको पनि गुनासो गर्छन् ।
समृद्ध नलगाड बनाउन जनप्रतिनिधिले आफूले सक्ने कोसिस गरिरेहेको उप–प्रमुख ठकुरी बताउँछिन् । ‘नलगाडलाई समृद्ध गराउन अघिल्ला जनप्रतिनिधिले पनि धेरै प्रयास गर्नु भएको छ । अब कति गर्न सक्छौं, हाम्रो बुद्धि, हाम्रो विवेक, हाम्रो क्षमता, हाम्रो लगानीले भ्याएसम्म गर्दै जाने हो,’ उनले बताइन् ।
नलगाडका मुख्य उपलब्धी
– आफ्नौ जग्गामा १३ वटै वडामा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह ।
– सबै वडाहरुमा रहेको १६ वटा स्वास्थ्य संस्थाहरुमध्ये १२ वटा नयाँ सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी स्वास्थ्य सेवा लिने नागरिकको संख्यामा वृद्धि ।
– सार्वजनिक सेवा प्रवाहका लागि १० जना अहेव, २१ जना अनमी, २ जना कृषि प्राविधिक, ३ जना पशु प्राविधिक, ३ जना सव ईन्जिनियर, १ जना रोजगार संयोजक, २ जना असिस्टेन्ट(सव ईन्जिनियर), ३ जना सवारी चालक, ४५ जना कार्यालय सहयोगी, १ जना पोषण स्वयम्सेवक, ३ जना सामाजिक परिचालकलाई करारमा नियुक्त ।
– सामाजिक सेवा प्रवाहका लागि ७२ थान सोलार, ३० थान सोफा सेट, ५१ थान प्रिन्टर, २७ थान कम्प्युटर, ८८ थान टेबल, ९२ थान कुर्सी, ९६ थान दराज, ५८ थान ल्याप्टप, २७ वटा मोटरसाइकल, १ लोडर, १ गाडी र १ एम्बुलेन्सको व्यवस्था ।
– प्रत्येक स्वास्थ्य संस्था तथा कार्यलयहरुमा नागरिक वडापत्र, उजुरी पेटिकाको व्यवस्था ।
– सबै वडा कार्यालय, सबै विषयगत शाखा, सबै माध्यमिक विद्यालय, सबै स्वास्थ्यचौकी र सबै प्रहरीचौकीहरुमा इन्टरनेट व्यवस्था ।
– वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण ।
– ७८ वटा कानुन पारित ।
– ११५ किलोमिटर बढी नयाँ सडकको ट्रयाक खोल्ने, २५६ किलोमिटर बढी सडक मर्मत र २०१ किलोमिटर बढी घोरेटो बाटो निर्माण ।
– २० वटा काठे, २ झोलुंगे, १ पक्की र ४ वटा टस्टवृज निर्माण ।
– नगरपालिकाको प्रशासनिक भवन, १९ वटा स्वास्थ्यचौकी, २६ वटा विद्यालय भवन, १ पशुसेवा चौखा, १ नलगाड बहुमुखी क्याम्पस, २ सरकारी गरी ६३ संस्थागत भवन निर्माण ।
– वडा नम्बर ५ मा १३ किलोवाट विद्युत् उतपादन क्षमता भएको लघुजलविद्यतु आयोजना निर्माण ।
– हालसम्म १ हजार २ सय ३ सेट सोलार सेट वितरण र ३ सय ३ घरपरिवारलार्ई फलामे चुलो वितरण ।
– विभिन्न स्थानमा ५.६९ किलोमिटर पक्की सिँचाइ कुलो निर्माण ।
– विभिन्न स्थानमा ५८ किलोमिटर बढी पाइप, १ पोखरी सिँचाइ निर्माण, ७ वटा क्याचमेन्ट, २ वटान इन्टेक, २ ट्यांकी, १ डिटि र १ विपिटि निर्माण ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here