राप्तीसोनारी- बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेषले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिएका छन् । तर यसअघि वडा अध्यक्ष शेष वडा नम्बर ६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई सकेका थिए ।
यसर्थ भानु माविको व्यवस्थापन समितिको अध्यक्षमा शेषलाई योग्यता नपुगे पनि अध्यक्ष बनाएको खुल्न आएको छ ।
माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेषले आदर्श स्कुलमा कक्षा ८ को परीक्षा दिएका हुन् । शेषले अहिले कक्षाको परीक्ष दिँदै गर्दा उनलाई कसरी माविस्तरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइयो, याो अहिलेको चर्चाको विषय बनेको छ ।
शेषले कक्षा ८ को परीक्षा अहिले दिए पनि भानु माविको अध्यक्ष बन्ने क्रममा उनले भारत बाट कक्षा १० पास गरेको शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ । जसका आधारमा उनलाई गाउँपालिकाले अध्यक्ष बनाएको थियो ।
माध्यमिक तहको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने शिक्षा ऐन नियमावलीमा उल्लेख गरिएको छ । तर, भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष शेषले अहिले पालिकास्तरीय आधारभूत तह कक्षा ८ को खुला शिक्षा अन्तर्गत आदर्श माध्यमिक विद्यालय खजुरा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन् ।
साथै स्थानीयहरुले भानुका अभिभावकहरुले योग्यता पुगेका व्यक्तिहरु हुँदाहुँदै योग्यता नपुगेको व्यक्तिलाई गाउँपालिकाबाट दादागिरी शैलीमा अध्यक्ष बनाएको आरोप लगाउँदै आउका छन् । स्थानीय युवा आलम खानले वडा अध्यक्ष भएका शेषको योग्यता नपुगेता पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइनु गैरकानुनी काम भएको बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अयोग्य व्यक्तिले कुनै योगदान दिन नसक्ने उनीको भनाइ छ । खजुरा गाउँपालिका वडा नम्वर ६ उढरापुरका मोहम्मद शकिल खाँले गाउँपालिकाले गैरकानुनी काम गरेको बताउँदै योग्यता नपुगेका अध्यक्षबाट विद्यालयको सुधारमा कुनै अपेक्षा गर्न नसकिने बताए ।
यता गाउँपालिकाले भने शेष भानु माविको अध्यक्ष भएको जनकारी नभएको बताएको छ । शिक्षा शाखा प्रमुख खगेन्द्रबहादृर मल्लले गरिबे शेष भन्ने व्यक्ति भानु माविको अध्यक्ष भएको जानकारी आफूलाई नभएको जिकिर गरेका हुन् । उनले गरिबे शेष भन्ने व्यक्तिले आफूखुशी स्वयम् अध्यक्ष हुँ भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चलाइरहेको दाबी गर्छन् । शेष विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्यमात्र भएको मल्ल बताउँछन् । कानुनी हिसाबले शेष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नभएको मल्लले दाबी गरे ।
तर भानु माविको विद्यालय व्यवस्थापन समितिको पदाधिकारी विवरणमा गरिबे शेषलाई निर्वाचित अध्यक्ष भनिएको छ । उनी नै अध्यक्षको भूमिकामा छन् । २०७८ मंसिर २५ गतेदेखि उनी अध्यक्षको भूमिकामा छन् ।